Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, August 6, 2015

नक्कली खाता खोलेर ३४ करोड ठगी

nepali-note२१ साउन, काठमाडौं । कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकमा नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको छ । बैंकको स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा रकम हिनामिना भएको प्रहरीले जनाएको छ । प्रहरीले गौतम र शाखा प्रबन्धकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुख्य योजनाकार गौतम, शाखा प्रबन्धक भरत बानियाँ, बैंककी सहायक कर्मचारी गीता पन्तलाई पक्राउ गरेको हो । गौतमका दुई श्रीमतीको समेत संलग्नता भेटिएपछि उनीहरूलाई पनि सिआइबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी सिआइबीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको नयाँ पत्रिकामा खबर छ  ।


गौतमले विभिन्न व्यक्तिको नाममा बैंकमा किर्ते नागरिकताका आधारमा खाता खोलेका थिए । ती खातामा उपत्यकाबाहिरका जिल्लाबाट आन्तरिक रेमिटेन्स आएको देखाइएको थियो । रेमिटेन्सबापत पैसा नआए पनि उनले पैसा आएको सिस्टममा देखाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खातामा पैसा जम्मा भएपछि गौतमले विभिन्न व्यक्तिमार्फत भुक्तानी लिने गरेका थिए ।

हालसम्मको अनुसन्धानमा उनले ५९ पटक गरेर ३३ करोड ९९ लाख रुपैयाँ त्यसरी ठगी गरेको अनुसन्धानमा खुलेको हो । खातामा रहेको पैसा चेकमार्फत भुक्तानी लिइएको थियो । रेमिटेन्ससम्बन्धी कामको जिम्मेवारी गौतमको नभए पनि उनले गोप्य रूपमा त्यससम्बन्धी डाटा इन्ट्रीको काम गर्दै आएका थिए । पैसा नै नआईकन करोडौँ रकम खातामा जम्मा भएको देखाएर भुक्तानी दिँदासमेत थाहा नहुनुमा बानियाँको चरम लापरबाही देखिएकाले उनलाई सिआइबीले पक्राउ गरेको हो ।

गत वर्ष असोजदेखि विभिन्न मितिमा त्यसरी घोटाला भएको हो । बैंकले केही महिनाअघि नै उनलाई निलम्बन गरिसकेको थियो । बैंकले हिनामिना थाहा पाएपछि भागेका गौतमलाई भने सिआइबीले भारतबाट पक्राउ गरी ल्याएको थियो । त्यसरी ठगेको पैसाले उनले अपार्टमेन्ट तथा गाडी खरिद गरेको खुलेको छ ।

No comments:

Post a Comment