Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, August 6, 2015

जागिर पनि कस्ता कस्ता ! मान्छे धेकेल्ने देखि टाबेल सुँघ्ने सम्म

paper-towelहरेक आमाबुवाले आफ्ना छोराछोरीलाई सबैभन्दा धेरै सोध्ने विषय सायद यो हो- बाबु/नानी, ठूलो भएर के बन्छौ ?
फुर्किँदै धेरैजसो बच्चाले जवाफ दिन्छन्-डाक्टर, इन्जिनियर, पाइलट… आदि । कुनैबेला यस्तो जवाफ दिने बच्चा ठूलो भयो, लक्का जवान भयो र जागिर पनि गर्न थाल्यो । कसैले उसलाई सोध्यो- भाइ के काम गर्छौ ? र उसले जवाफ दिन्छ-हजुर, धक्का दिन्छु । कुनैबेला डाक्टर, इन्जिनियर बन्नेछु भनेर फुर्किने मानिसले धक्का दिने काम गर्छु भनेर जवाफ दिँदा तपाइँ तिनछक नपर्ने कुरै भएन । प्रश्न उठ्न, साँच्ची के धक्का दिने पनि जागिर हुन्छ र ?


हो, धक्का दिने पनि जागिर हुँदोरहेछ । सुन्दैमा अनौठो तर अपत्यारिलो लाग्ने यो धक्का दिने जागिर वास्तवमा निकै राम्रो तलब पाउने जागिर पो रहेछ ।

धक्का दिने जागिर मात्र होइन, यो दुनियामा अरु धेरै यस्ता जागिरहरु छन् जसको बारेमा सुन्दैमा हैरान भइन्छ र भन्न बाध्य होइन्छ की, के यस्तो पनि कहीँ जागिर हुन्छ ? पढौँ दुनियाका अनौठा जागिरहरु-

१. धकेल्नेे जागिर– जापानमा कार्यालय समयको पालना भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । बिहान काममा जानका लागि मानिसहरुको मेट्रो रेलमा ठूलो भिड लाग्छ । र, केही मानिसहरुको जागिर नै हुन्छ की रेल चढ्ने यात्रुहरुलाई लगातार ढोकाभित्र धकेल्नु ।

२. भाडाको प्रेमी– जापानको टोकियोमा यदि कुनै महिलालाई चाहना भयो भने भाडामा ब्वायफ्रेण्ड बनाउन सक्छन् । त्यसैले भाडाको ब्वायफ्रेण्ड बन्ने जागिर पाउन सक्छन् युवकहरुले । यस्तो जागिरका लागि उनीहरुले प्रतिघण्टाको आधारमा तलब भत्ता (भाडा ) पाउँछन् ।

३. लाइनमा उभिने जागिर– कुनै कामका लागि लामो समयसम्म लाइनु उभिनु पर्छ । तर केही मानिसहरु आफ्नो स्वास्थ्य अवस्था तथा अन्य कारणहरुले गर्दा लामो समयसम्म लाइनमा उभिन सक्दैनन् । यस्तोमा ती ग्राहकहरुले लाइनमा बस्नका लागि खेताला खोज्न सक्छन् । त्यस्ता खेतालाहरु निश्चित समयसम्मका लागि खास ग्राहकको ठाउँमा लाइन बसिदिन्छन् र त्यसबापत केही पैसा कमाउँछन् ।

४. सुत्ने जागिर– नासा लगायतका विश्वका कतिपय ठूला वैज्ञानिक संस्थाहरुले आफ्नो अनुसन्धानका लागि मानिसहरुलाई सुत्ने जागिर दिने गरेका छन् । त्यस्तो जागिर खाने मानिसहरु बस् सुतिदिए पुग्छ । वैज्ञानिकहरुले त्यसरी सुत्ने जागिरेहरुमार्फत निद्रा सम्बन्धि समस्या लगायतका विषयमा अनुसन्धान गर्दछन् ।

५. बिहेमा पाहुना बन्ने जागिर– हाम्रो देशमा त कुनै पुजाआजा, बिहे ब्रतबन्ध तथा पार्टीहरुमा निम्तो नै नदिइएको कोही मानिस गयो भने उसको खिसिट्युरी हुन्छ । तर जापानमा भने निम्तो नै नपाएका पाहुना बिहे समारोहमा पुगेभने उनीहरुको ठूलो सम्मा हुन्छ । कतिपय मानिसले त बिहेका समारोहहरुमा जाने पार्टटाइम जागिर नै खाएका हुन्छन् । यसरी निम्तो नै नपाइ बिहेको समारोहमा गएबापत उनीहरुले पैसा समेत कमाउँछन् ।

६. जँड्याहालाई करेन्ट लगाइदिने– मेक्सिकोमा केही मानिसहरु अरु दोश्रो मानिसलाई विजुलीको झट्का दिएर पैसा कमाउँछन् । मेक्सिकोका पब तथा बारहरुमा जो मानिसहरु बढि रक्सी खाएर बेहोस बन्दछन् उनीहरुलाई ब्युँझाउनका लागि रेष्टुरेन्ट तथा बारले विजुलीको करेन्ट लगाइदिने कर्मचारी समेत भर्ना गरेका हुन्छन् । त्यस्ता कर्मचारीको काम नै जँड्याहालाई करेन्ट लगाइदिने हुन्छ ।

७. पेपर टावेल सुँघ्ने- कतिपय पेपर टावेल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनलाई बजारमा पठाउनु अघि पेपर टावेलको गन्ध सुँघ्नका लागि समेत केही कर्मचारी खटाएका हुन्छन् । पेपर टावेलमा कतै दुर्गन्ध त आएको छैन भन्ने एकिन गर्नका लागि टावेल सुँघ्ने काम ती जागिरेको हुन्छ ।

८. युवकलाई आलिंगन गरेर सुत्ने जागिर– जापानमा युवाहरुलाई भाडामा प्रेमी बन्ने जागिर मात्र होइन, युवतीहरुका लागि समेत राम्रो जागिर पाइन्छ, त्यो हो केटाहरुलाई आलिंगन गर्ने र सँगै सुत्ने । आफ्नी गर्लफ्रेण्डसँग ब्रेकअप भएका वा कुनै कारणले गर्लफ्रेण्ड मिस गरिरहेका युवकहरुका लागि गर्लफ्रेण्डको अनुभुति दिलाउने काम गर्छन् पेसेवर युवतीहरुले । उनीहरु त्यस्ता पागल प्रेमीहरुसँग आलिंगन गर्छन् र सँगै सुतिदिन्छन् । यसका लागि उनीहरुलाई राम्रो तलब मिल्दछ ।

९. नम्बर प्लेट लुकाउने जागिर– इरानमा एउटा अनौठो नयाँ नियम लागु भएको छ । त्यस अनुसार सडकमा एक दिन जोर नम्बर प्लेटका गाडी चल्दछन् भने अर्को दिनमा बिजोर नम्बर प्लेटका गाडि चल्न पाउँछन् । यस्तो नियमले गाडी धनीलाई निकै मर्का पर्ने गरेको छ र आफुलाई अत्यावश्यक परेको दिनमा पनि आफ्नो गाडी चलाउन नपाउने बाध्यता छ । यस्तो अवस्थामा नम्बर प्लेट ब्लकरको जागिर मालामाल हुने गरेको छ । ती ब्लकरहरुको काम नै गाडिको नम्बर प्लेटको कुनै अंक लुकाइदिएर जोर बिजोर मिलाइदिनु हो ।

१०. जनावरको खानेकुरा चाख्ने जागिर– जनावरको खाना मानिसले चाख्ने ? सुन्दैमा अमिल्दो । तर यो दुनियामा जनावरहरु पनि भाग्यमानी छन् जसले व्यवसायिक मानिसले सुरुमा चाखेर ओके गरेको खानेकुरा मात्र खान्छन् । ता की त्यस्तो खानामा कुनै कैफियत नहोस् । कुकुर बिरालो जस्ता घरपालुवा जनावरको खानेकुरा उत्पादन गर्ने कतिपय कम्पनीहरुले खानेकुरा चाख्ने कामका लागि समेत कर्मचारी भर्ना गरेका हुन्छन् र उनीहरुले त्यो खानेकुरा प्याकिङ गर्नुअघि चाखेर मात्र ओके गर्दछन् ।

No comments:

Post a Comment