Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, August 8, 2015

सिद्धबाबाको पहिरोले गुडिरहेको बस बगायो

सिद्धार्थ राजमार्गको बुटवल पााल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबामा माथीबाट झरेको पहिरोले गुडीरहेको यात्रु बाहक बस बगाएको छ।
पाल्पाबाट बुटवलको लागि बिहान ११:४५ बजे छुटेको लु. १ ख. ५७७१ नं. को यात्रु बाहक बस दिउँसो साढे १ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट पानीको छहरो सँगै झरेको लेदो पहिरोमा बस परेको हो।


दुर्घटनामा परि दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। माथिबाट बगेको लेदो पहिरोमा केहि बेर बस फसेपछि बसमा सवार यात्रुहरू ओर्लिएका कारण धेरै मानविय क्षती हुन नपाएको प्रहरीले जनाएको छ।

करिब २५ जना जति बसमा यात्रु रहेको र बस पहिरोमा फसेपछि अधिकांश यात्रुहरु बस नबगाउँदै झरेको सोहि बसमा सवार शंकर न्यौपानेले बताए। पाल्पा दोभानबाट उक्त बसमा चढेका न्यौपानेका अनुसार पहिरोमा परी करिब ५ मिनेट बस फसेको थियो।

सोहि समयमा करिब २० जनाजती यात्रु ओर्लिएको हुन सक्ने उनले बताए। बस तिनाउ नदिमा खसेको र बाढीले पुरै डुबाएकोले कति यात्रु पहिरोमा परेका छन् भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

घटनास्थल अत्यन्त अप्ठ्यारो ठाउँमा रहेको र माथिबाट ढुंगा सहितको पहिरो झरिरहेकोले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ। पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक हरिराज वाग्लेले बस नदिमा पुरै डुबेको र कुनैपनि भाग नदेखिएकोले उद्धारमा कठिनाई भएको बताए।

पानी भित्र गएर उद्धार गर्न अत्याधुनिक उद्धार सामाग्री सहित गोताखोर आवश्यक पर्ने भएपनि यहाँ त्यसको अभावमा उद्धारमा समस्या भएको उनले बताए। यो सडक खण्डमा हरेक वर्ष हिले तथा धुले पहिरोमा परि दर्जनौ व्यक्तिहरुले ज्यान गुमाएका छन्।

यसअघि पनि माथिबाट खसेको ढुंगाले थिची दुईजना डाक्टरको ज्यान गएको थियो भने गत बुधवार सोहि स्थानमा अर्को एउटा कार पहिरोमा च्यापिएको थियो।

अहिले पहिरोको कारण अवरुद्ध भएको सडक डोजर लगाएर खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment