Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, August 12, 2015

यी हुन सक्छन् ६ प्रदेशका सम्भावित राजधानी (नक्सासहित)

२७ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नयाँ पार्टी कार्यालयमा पहिलो पत्रकार सम्मेलन गर्दै अब प्रादेशिक राजधानीका लागि मारामार हुने संकेत गरे ।

सीमांकनको भाउँतोबाट उम्किन नपाउँदै प्रादेशिक राजधानीको खिचातानीले दलका नेता कार्यकर्ता केन्द्रबाट क्षेत्र हुँदै जिल्लाको स्वार्थमा र्झन सक्ने भन्दै उनले यो भाउँतोमा नलाग्न एमाले पंक्तिलाई कडा निर्देशन दिए ।
प्रादेशिक राजधानी र प्रदेशको नामको टुंगो लाउने जिम्मा सम्बन्धित प्रदेश सभासलाई नै दिने भद्र सहमति दलहरुबीच भइसकेको छ । तर, पनि ती दलका नेता कार्यकर्ता आ-आफ्नो पायक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न शक्ति-सञ्चय गर्न थालिसकेका छन् ।

6 pardesh_and it's capital city
बिभिन्न भेगमा सीमांकन विरुद्ध उठेको आक्रोश र आन्दोलनका कारण कतिपय जिल्लाहरुको सीमांकन तलमाथि हुने नेताहरुले बताइसकेका छन् । तर, ठूलै परिमार्जन भने नहुने निश्चित छ ।

प्रादेशिक राजधानीका लागि कतिपय ठाउँमा आन्दोलन चलिसकेको छ भने कतिपय ठाउँका प्रभावशाली नेताहरुले भित्रभित्रै मिलाउँदैछन् । सुर्खेतको हिंसात्मक आन्दोलन प्रादेशिक राजधानीको लागि हो भन्ने बुझ्न गाह्रो छैन ।

संघीय प्रदेशको राजधानी हुनु भनेको त्यस क्षेत्रका विकास, सम्बृद्धि र बन्द ब्यापारमा ठूलो फड्को मार्नु हो । त्यसैले यो मौका गुमाउन कोही पनि चाहँदैनन् ।

प्रदेशको राजधानीका लागि आन्दोलित भएका, मानसिक रुपमा तयार भएका र पुर्वाधार तथा पायकको हिसाबले उपयुक्त स्थानहरु कुन कुन हुन सक्छन् भनेर अनलाइनखबरले ‘सामान्य सर्वेक्षण’ गरेको छ ।

इटहरी, धनकुटा वा बिराटनगर ?
प्रदेश नम्बर १ को राजधानीका लागि इटहरी र धनकुटा जुर्मुराइसकेका छन् । हाल पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका कारण धनकुटाको दाबी जति बलियो छ, सोलु ओखलढुंगादेखि ताप्लेजुङसम्मका मान्छेको पायकका हिसाबले इटहरी उत्तिकै जायज छ ।

बिराटनगर र झापाले प्रादेशिक राजधानीका लागि कुनै लबिङ गरेको छैनन् । तर देशको राजनीति चलाउने शीर्षनेताहरु यीनै दुई ठाउँका जनप्रतिनिधि भएकाले जे पनि हुन सक्छ ।

जनकपुर, वीरगञ्ज वा अन्तै ?
प्रदेश नम्बर २ को राजधानीका लागि जनकपुरको नाम निर्विवाद जस्तो देखिन्छ । तर, देशको व्यापारिक राजधानी वीरगन्ज र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल तथा सप्तरीदेखि पर्साको बीचमा पर्ने हुनाले निजगढ चन्द्रनिगाहपुर क्षेत्र पनि भित्रभित्रै जुर्मुराउँदैछ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला भएका कारण पनि रौतहट आसपासको क्षेत्रले प्रादेशिक राजधानीका लागि लबिङ बलियो बनाउन सक्छ ।

चितवन, काठमाडौं वा हेटौडा ?
प्रदेश नम्बर ३ को राजधानीका लागि चितवनले प्रचण्डको बल प्रयोग गर्न सक्छ । त्यसो त चितवनले सुशील कोइरालामात्रै होइन एमाले नेता सुरेन्द्र पाण्डेको शक्ति पनि प्रयोग गर्दैछ ।

तर, मुलुकका राजधानी काठमाडौं रामेछापदेखि रसुवासम्म, मकवानपुरदेखि सिन्धुलीसम्मका जनताका लागि पायक पर्ने ठाउँका रुपमा रहेकाले सम्भवतः काठमाडौं सर्वस्वीकार्य हुन सक्छ ।

दावीकै लागि त हेटौंडा र बनेपाले पनि गर्न सक्छन् । तर, देशको राजधानी सम्मिलित प्रदेशको प्रादेशिक केन्द्र काठमाडौंमै हुन सक्ने बढी सम्भावना छ ।

पोखरा निर्विवाद
प्रादेशिक राजधानीमा कुनै विवादै नहुने सम्भवतः ४ नम्बर प्रदेश हुनेछ । चार नम्बर प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा हुनेमा लगभग त्यस क्षेत्रका सबै जिल्लाका जनता लगभग सहमत देखिन्छन् ।

दाङ, बुटवल वा नेपालगञ्ज ?
प्रादेशिक राजधानीका लागि सबैभन्दा विवाद, तनाव र तानातान ५ नम्बर प्रदेशमा हुनेछ र भइरहेको छ । ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ, बुटवल र नेपालगञ्ज प्रवल दाबेदार हुन् ।

नेपाल एकीकरण लगत्तैदेखि पश्चिमको गौंडाका रुपमा रहेको पाल्पा पनि प्रादेशिक राजधानीको दावेदार हो । राणा शासनको पालासम्म पाल्पामा बडा हाकिम बसेर त्यस क्षेत्रमा शासन गर्थे ।

प्रदेश नम्बर ६ को राजधानीका लागि धेरै ठूलो विवाद छैन । किनकि अखण्ड सुदूर पश्चिम कि खण्डित सुदूरपश्चिम भन्ने विवाद निकै पेचिलो बन्दैछ । कैलाली ६ नम्बर प्रदेशमै रहिरहेमा धनगढी प्रादेशिक राजधानीको दाबेदार हो ।

तर, सुर्खेतलाई ६ नम्बरमै राखियो भने उसले पनि प्रादेशिक राजधानीको दाबी गर्ने अहिले त्यहाँ चर्किएको आन्दोलनले नै संकेत गरिसकेको छ । अखण्ड मध्यपश्चिम मागेर आन्दोलित सुर्खेतको दावी पनि अन्ततः ६ नम्बर प्रदेशको राजधानी हुन पाउनुपर्ने नै हो ।

यसबाहेक हाल क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल पनि ६ नम्बरको प्रादेशिक राजधानीको अर्को दावेदार हो ।

झगडाको सम्भावना
प्रदेशहरुको सीमांकनले जसरी जिल्ला, अञ्चल, क्षेत्र, जात र भेगका नाममा अहिले आन्दोलन भइरहेका छन्, भोलि प्रादेशिक राजधानीका नाममा यो भन्दा तल्लो तहमा गएर जनता बिभाजित हुने सम्भावना छ ।
त्यसैले एमाले अध्यक्ष केपी ओलीले ठीकै भने-अहिले देश संघीय प्रदेशहरुमा जाने भएपछि नेपालको राजधानी काठमाडौं हुने भन्दा बाहेक अरु सबै ठाउँको नाउँमा विवाद छ । सबैलाई मान्य हुने समाधान कसैसँग छैन । सबैले आफ्नो भौगोलिक र राजनीतिक पायक मात्र हेरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/310796/#sthash.wOj9CyOy.dpuf

No comments:

Post a Comment