Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 26, 2015

म्यानपावरका दलालको अखडा बन्यो वैदेशिक रोजगार विभाग

Rojgar-bivag११ असार, काठमाडौं । वैदेशिक रोजगार विभागकै कर्मचारीले म्यानपावर व्यवसायीसँग मिलेर नेपाली युवायुवतीलाई ठग्ने गरेको प्रमाण अख्तियारले फेला पारेको छ । ठगी धन्दामा संलग्न विभागका १२ कर्मचारी एकैसाथ कारवाहीमा परेका छन् ।

कर्मचारीसँग मिलेर म्यानपावर व्यवसायीले नक्कली कागजपत्र बनाई श्रमस्वीकृति लिने र कामदारहरुलाई विदेश पठाउने गरेको अनुसन्धानबाट खुलेको हो ।


रोजगारदाता कम्पनीबाट आएको कागजपत्र सच्याएर नक्कली कागजपत्र तयार पार्न ललितपुरस्थित नेपाल निक प्रेसलाई प्रयोग गरेको खुलासासमेत भएको छ ।

अख्तियारले गरेको अनुसन्धानबाट वैदेशिक रोजगार विभागका कर्मचारीहरुलाई म्यानपावर कम्पनीले घुस खुवाएर नक्कली कागजपत्र तयार पार्ने र श्रम स्वीकृति लिएर मलेसिया, कतार, साउदी अरब, दुबईलगायतका देशमा पठाई कामदारलाई अलपत्र पार्ने गरेको पुष्टि भएको हो ।

ललितपुरको निक प्रेसबाट बरामद कागजपत्रहरुका आधारमा अख्तियारले २४ फेब्रुअरी २०१४ देखि १० जुलाई २०१४ सम्मको कारोवार अभिलेखलाई आधार मानेर अनुसन्धान गरेको थियो । त्यसबाट १ सय २ म्यानपावर कम्पनीहरु अनुसन्धानको दायरामा आएका थिए ।

३३ जना विरुद्ध मुद्दा दायर
अनुसन्धानबाट अनियमितता पुष्टि भएपछि वैदेशिक रोजगार विभागका १२ कर्मचारी, १९ म्यानपावर र निक प्रेसका सञ्चालक शेरबहादुर महर्जनसहित ३३ जना विरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुलाई हदैसम्मको जरिवाना र सजाय तथा ३३ लाख ७३ हजार ५ सय रुपैयाँ विगोदावी कायम गरी मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार अधिकांश फाइलका कागजातहरु नक्कली तथा रोजगारदाता कम्पनीले पठाएका विवरणहरु हेरफेर गरिएका एवं सच्याइएका गलत कागजहरुबाट म्यानपावर कम्पनिहरुले श्रम स्वीकृति प्राप्त गरेको देखिएको छ । त्यसरी श्रमस्वीकृति लिने म्यानपावरहरुको संख्या ४७ छ ।

‘वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिँदा नक्कली तथा रोजगारदाता कम्पनीबाट प्राप्त कागजहरुमा विवरण (तलब, वर्किङ आवर, कामदार संख्या, कामको प्रकृति जस्ता महत्वपूर्ण विवरणहरु) सच्याइ आफू अनुकुल विवरण हेरफेर गरी गलत कागजहरु पेश गरी श्रम स्वीकृती प्रदान गर्ने कर्मचारीहरुलाई झुक्याई भ्रममा पारी श्रम स्वीकृती लिने काम गरे-गराएको खुल्न आएको छ,’ अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगारमा जाने कामदारहरुले तोकिए बमोजिमको सेवा शर्त अनुसार काम नपाई फर्कनु परेको र काम पाएपनि कामको प्रकृति र फरक कम्पनीमा पुग्ने गरेको गुनासो तथा उजुरीहरुका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

वैदेशिक रोजगार ऐन ०६४ को दफा ४७ ले वैदेशिक रोजगारमा कामदार पठाउन इजाजत प्राप्त संस्थाहरुले रोजगारदाता कम्पनीबाट प्राप्त भएको कुनै पनि कागजातहरुमा हेरफेर गर्न र सच्याइएका त्यस्ता गलत कागजातबाट श्रम स्विकृति लिन नपाउने व्यवस्था गरेको छ ।

उक्त दफाबमोजिम कारवाही गर्ने आधिकारिक निकाय वैदेशिक रोजगार विभाग नै भएकाले कानूनबमोजिम गर्न वैदेशिक रोजगार विभागमा लेखी पठाइएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment