९ असोज, काठमाण्डौं । अमेरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा चिट्ठा (डीभी) खुला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आइतबार सूचना जारी गर्दै आगामी १५ असोजको मध्याह्नदेखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो। दूतावासका अनुसार डीभी चिट्ठाका लागि १६ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिनेछ। एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ।
‘डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ। आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ। सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिनुहोला। जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ। अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो।
चिट्ठा खुल्न महिना दिनअघिदेखि नै विभिन्न परामर्शदाताले अग्रिम डीभी भर्ने विज्ञापन गर्न थालेपछि दूतावासले त्यस्ता विज्ञापनको पछि नलाग्न सर्वसाधारण नेपालीलाई सुझाएको हो । डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ । परिवारका सदस्य उल्लेख नगरिए आवेदन रद्द हुने भन्दै दूतावासले एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ ।
एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परे/नपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ । चिट्ठामा छनोट हुँदैमा भिसा पाइने ग्यारेन्टी नहुने भन्दै दूतावासले अमेरिकी आप्रवासन कानुनयोग्य व्यक्तिलाई मात्र अवसर दिने पनि स्पष्ट पारेको छ । ‘कृपया, याद गर्नुहोला, तपाईं डीभीका लागि छनोट हुँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुराको सुनिश्चित हुँदैन ।
जारी गर्न मिल्ने भिसा संख्या सीमित हुने भएका कारण सबै डीभी विजेताहरूलाई अन्तर्वार्ताका लागि बोलाइँदैन । यदि, तपाईंलाई अन्तर्वार्ताका लागि बोलाइएको खण्डमा कन्सुलर अधिकृतले तपाईं अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागि योग्य भए÷नभएको निर्धारण गर्नेछ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ । डीभी चिट्ठा परेका व्यक्ति कम्तीमा १२ कक्षा (प्लस टु) पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ । ‘शैक्षिक योग्यताअन्तर्गत कम्तीमा १२ वर्षको औपचारिक शिक्षा हासिल गरको हुनुपर्ने राजधानी दैनिकमा खबर छ ।
तपाईंले पूरै १२ वर्षको शिक्षा कक्षाकोठामा उपस्थित भई हासिल गरेको हुनुपर्दछ, प्लस टु प्राइभेट परीक्षामार्फत दिएर पुग्दैन,’ अमेरिकी दूतावासले भनेको छ, ‘त्यस्ता सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीहरूलाई मात्र मान्यता दिइन्छ जसको आधारमा विद्यार्थीले नेपालमा उच्च शिक्षाका जुनै पनि संस्थामा जुनै पनि शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउँछन् ।
सीमित शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउने खालका व्यावसायिक डिग्रीहरू डीभी कार्यक्रमको उद्देश्यका लागि १२ वर्षबराबरको औपचारिक शिक्षाको रूपमा गनिदैन ।’ नेपालस्थित अमेरिकी दूतावासले आवेदकहरूलाई सकेसम्म छिटो आवेदन भर्न आग्रहसमेत गरेको छ ।
No comments:
Post a Comment