Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, April 13, 2013

यूएईमा ४२ नेपाली बन्दी, १ सय ३२ लाई माफी, २ कामदार एक बर्षदेखि बेहोस


३१ चैत, काठमाण्डौं । संयुक्त अरब इमिरेट्समा रहेका सातओटा कारागारमा ४२ भन्दा धेरै नेपालीले विभिन्न आरोपमा जेल सजाय भोगिरहेको पाइएको छ ।
दुवईलगायत सातओटा राज्यमा रोजगारीका लागि पुगेका नेपाली कामदारले स्थानीय कानुनको उलंघन गरेको अभियोगमा नियन्त्रणमा लिएर जेलमा राखिएको नेपाली दूतावासले जनाएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जेलसजाय भोगिरहेकामध्ये दुईजनालाई मृत्युदण्डको फैसला सुनाईएकासहित विभिन्न अपराधमा संलग्नहरु छन् । दुवईस्थित केन्द्रीय कारागारमा मात्र २७ जना नेपाली बन्दी अवस्थामा रहेको र अन्य ६ ओटा जेलमा त्यतिनै संख्यामा रहेकेा राजदूत विद्यानन्द झाले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।

गम्भिर प्रकृतिका अपराधमा संलग्नदेखि सामान्य नियम उल्लंघन गर्नेलाई पनि अनुसन्धानका लागिसमेत जेलमा राख्ने प्रावधान छ । सोही आधारमा आरोपको अन्तिम टुंगो नलागेसम्म सबै आरोपितलाई कारागारमा राखिने गरिएको हो । केही समयअघि नेपाली दूतावासले गरेको अनुगमनमा केन्द्रीय कारागार दुवईमा रहेका २७ मध्ये चारजनामात्र मादक पदार्थ पिएर अमर्यादित काम गर्ने रहेका थिए । अन्य भने ठगी, चोरी, ज्यान मारेका र सवारी नियम उल्लघंन गरेको अभियोगमा जेलमा राखिएको हो ।
१ सय ३२ स्वदेश फिर्ता
स्थानीय कानुनअनुसार १ सय ३२ नेपाली भने माफी पाएर स्वदेश फर्किएका छन् । संयुक्त अरब इमिरेट्समा अवैध रुपमा बसिरहेका नेपालीलाई मुलुक छाडेर स्वदेश फर्किन दिएको समयावधिभित्र १ सय ३२ नेपालीले त्यहाँको सरकारी निकायमा गएर क्षमायचना गरेपछि उनीहरुलाई नेपाल फर्किने आउट पास दिएको हो ।
यूएईमा २०७० पछि यहाँ रहेका अवैध विदेशी कामदारलाई दुईमहिनाभित्र क्षमायाचना गरे स्वदेश फकिर्ने अवसर दिने सार्वजनिक घोषणा गरिसकेको छ ।
दुई नेपाली एक बर्षदेखि बेहोस
काम गर्दा गर्दै एक्कासि जमिनमा ढलेर १३ महिना अघि बेहोस भएका इलाम गजुरमुखी २ का सन्तबहादुर लिम्बु र ११ महिनाअघि अरुकै झगडा र मारपिटका कारण टाउकोमा गम्भिर चोट लागेका बागलुङका लोकबहादुर घर्तीमगरको अझैसम्म होस खुलेको छैन् । उनीहरु दूवै वेवारिसे अवस्थामा छन् ।

No comments:

Post a Comment