‘कर्मचारी चाहियो’ भन्दै धेरै रकमको तलब तोक्दै अनेक नामका संस्थाले दैनिक पत्रिकाहरुमा विज्ञापन गर्ने होड बढ्दै गएको छ। पत्रिका हेर्दा लाग्छ– यी संस्थाहरुको तलब सुविधा कुनै सरकारी तलव सुविधाभन्दा कम छैन।
विभिन्न नामबाट संचालन भएका यी संस्थाहरुले दैनिक हजारौं युवाहरु ठगिरहेका छन्। मुलुकमा बेरोजगारको संख्या बढ्दै गएसँगै यसको फाइदा उठाइरहेका छन् ती संस्थाहरुले। पत्रिकामा विज्ञापन हेरेकै भरमा यी संस्थाहरुमा दैनिक सयौं बेरोजगार युवाको भीड हुने गर्दछ।
कतिपय संस्थाहरुले त ओर्जिनल डकुमेन्ट देखाएपछि मात्रै कामको बारेमा विस्तृत जानकारी दिने गरेको पाइन्छ भने कतिपयले तालिम दिनुअघि नै ओर्जिनल डकुमेन्ट कब्जा गरिसकेका हुन्छन्। अधिकांश संस्थाहरु दर्ताबेगर नै संचालन छन् भने कतिपय संस्थाहरुले नयाँ कार्यालय भएको बताउँदै दर्ता प्रक्रियामा रहेको समेत बताउँछन्।
यी संस्थाहरुमा पाइने काममध्येको एउटा काम हो कस्मेटिक्स तथा आयुर्वेदिक औषधी झोलामा हालेर घर–घर वा बाटोबाटोमा बेच्न पठाउने। यसका लागि १ महिनाको अवधि तालिमका लागि भनेर छुट्याइको हुन्छ।
ती संस्थाकै भनाईअनुसार १ महिनासम्म कर्मचारीले तलब पाउँदैन। नागरिकता वा सर्टिफिकेटको ओर्जिनल त्यहीं संस्थामा बुझाएपछि मात्रै विभिन्न उत्पादनका सामान कर्मचारीलाई दिने गरेको संस्थाका कर्मचारीहरु स्वीकार्छन्।
गैह्रीधारामा ‘देभ इन्टरनेश्नल’को नामबाट खोलिएको एक संस्थाका कर्मचारीले भने ‘ओर्जिनल डकुमेन्ट राखेपछि मात्रै सामान दिने हो, नत्र उ सामान लिएर भाग्यो भने के गर्ने ?’ विभिन्न स्याम्पु, क्रिम, टुथपेष्ट लगायत कस्मेटिक्स र आयुर्वेदिक औषधीहरु फिल्डमा लगेर ग्राहकहरुसित डिल गरेर बेच्नुपर्ने काम दिइने गरेको मित्रपार्कमा खुलेको हिमशिखा इन्टरप्राइजेज नामक संस्थाका ब्रान्च म्यानेजर मोहन गुरुङले बताए। उनका अनुसार बसुन्धारामा मुख्य कार्यालय रहेको यसका उपत्यकामा मात्रै ५ वटा शाखा छन्।
ति संस्थाहरुका अनुसार १ महिनाको तालिमको अवधिमा संस्थाले तोकेको सामान बेच्न सकेमा मात्रै युवाले रोजगारी पाउँछ। अन्यथा उ तालिमबाटै बाहिरिनुपर्दछ। १ महिनाको तालिमको अवधिसम्म एउटा बेरोजगार युवाले हजारौं रकम खर्चिसकेको हुन्छ, त्यसको क्षतिपूर्ति कसले दिने?
यसबाट पीडित बनेका एक युवा नाम नबताउने शर्तमा भन्छन् ‘१ महिनासम्म काम गरेँ, सामान थोरै बेच्यो भनेर फेल गरायो त्यसअघि मैले फर्म शुल्क, तालिमको खर्च, फिल्डमा हिँड्दाको खर्च गरेर उल्टै १० हजार रुपैयाँ आफै नोक्सान ब्यहोर्नुपर्यो।’ कतिपय घरहरुमा जाँदा आफूले दुव्र्यवहार समेत भोग्नुपरेको गुनासो उनले गरे।
त्यस्तै पत्रिकाहरुमा आउने विज्ञापनमध्येकै अर्को काम हो– विदेशी कल रिसिभ गर्ने र डिल गरी प्राप्त वेभसाइटहरु बिकाउने। यसका लागि तालिम अनिवार्य हुने बताइन्छ।
केही संस्थाहरुमा गरिएको सर्वेक्षणअनुसार यसको तालिम खर्च ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लाग्दो रहेछ।
तीनकुनेमा रहेको एसएस नेपालले यसको शुल्क ३५ सय तोकेको छ। मित्रपार्कमा रहेको अर्को एसएसडी नेपालले यसको शुल्क ३ हजार तोकेको छ भने गोपिकृष्णनजिक रहेको अर्को एमके नेपाल नामक संस्थाले पनि यसको शुल्क ३ हजार रुपैयाँ नै तोकेको छ। ती संस्थाका काउन्सिलरका अनुसार यसका लागि अंग्रेजीमा दख्खल युवा आवश्यक हुन्छ। उनीहरुका अनुसार यसको तालिम लिइसकेपछि जागिर खानेलाई छुट्टै ‘आइडी’ खोलिदिइन्छ। त्यही आइडीबाट विदेशीलाई विभिन्न वेभसाइटहरु प्रमोसन गर्दै बेच्नु पर्दछ।
उनीहरुले दिएको जानकारीअनुसार तालिम लिइसकेपछि छनौटमा पर्नका लागि फेरि अन्तरवार्ता लिइन्छ। यदि अन्तरवार्तामा फेल भएपछि यसको तालिम शुल्क र फर्म शुल्क फिर्ता पाइँदैन।
अन्तरवार्तामा छनौट हुने सम्भावना ज्यादै न्यून हुन्छ। उनीहरुकै भनाइअनुसार यदि अन्तरवार्ता पास भए पनि यसका लागि घरमै कम्प्युटर वा ल्यापटप, छुट्टै सप्टवेयर र २४ सै घण्टा चल्ने द्रुत गतिको इन्टरनेट हुनु जरुरी हुन्छ।
लोडसेडिङको चर्को मार र गुणस्तरीय इन्टरनेटको अभाव खड्किरहने यहाँ रोजगार खोज्दै हिँड्ने साधारण व्यक्तिका लागि यो असम्भवजस्तै छ। विज्ञापनका रुपमा आएका वेभसाइट विक्री भएमा मात्रै यसको आम्दानी हुने काउन्सिलरहरु बताउँछन्।
एउटै संस्थाले तालिम दिने, अन्तरवार्ता लिने र अन्तिममा वेभसाइट विक्री भए कर्मचारी राख्ने नत्र फेरि पत्रिकामा विज्ञापन दिएर अर्को कर्मचारी खोज्ने प्रबृत्तिलाई कसरी विश्लेषण गर्ने?
त्यस्तै यी संस्थाहरुले दिने भनेको अर्को काम हो– टाइपिष्ट। यसमा पनि घरमै कम्प्युटर र द्रुत गतिको इन्टरनेट हुनु आवश्यक पर्छ। यसका लागि पनि ति संस्थाहरुले ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मको तालिम खर्च भनेर छुट्याउने गरेका छन्।
दैनिक ५ हजार शव्द टाइप गरेमा मासिक १५ हजार ५ सय रुपैयाँ तलव हुने आश्वासन दिइने गरिएको छ। तर एउटै शव्दमा पनि अंग्रेजी ठूलो र सानो अक्षर तथा अंक समेत मिसिएको ५ हजार शव्दको सांकेतिक कोड दैनिक एक्लैले टाइप गर्नु निकै चुनौतिपूर्ण हुने सम्वन्धित व्यक्तिहरु बताउँछन्।
त्यसका अलवा विभिन्न डल्सहरु बनाउने, आर्टिफिसियल पोष्टरहरु बनाउने, मालाको दानाहरु बनाउने लगायतका कामहरु देखाएर पनि यी संस्थाहरुबाट युवाहरु ठगिइरहेका छन्। यस्ता कामका लागि पनि पहिले तोकिएको शुल्क बुझाएर तालिम लिइनुपर्ने एसएसडी नेपालमा कार्यरत कर्मचारी रुपा दाहाल बताउँछिन्। उनका अनुसार यी काममा तालिम लिइसकेपछि दैनिक निश्चित तोकिएको संख्यामा बनाइसकेपछि मात्र मासिक रुपमा भुक्तानी हुन्छ।
गोपिकृष्णमा रहेको एमके नेपाल नामक संस्थाका अनुसार यदि यसको सामानहरु बनाउने क्रममा नोक्सान हुन गएमा वा सामान बिग्रिएमा त्यसको क्षति स्वयम कर्मचारीले नै ब्यहोर्नुपर्नेछ। कर्मचारीले तिर्न आनाकानी गरेमा मासिक ज्याला काटेर भुक्तानी हुनेछ।
फाराम भरेवापत प्रतिव्यक्ति २ सयदेखि ५ सय रुपैयाँसम्मको शुल्क उठाउने, तालिमका नामबाट थप रकम अशुल्ने अनि अन्तिममा अन्तरवार्ताबाट छनौट गर्न नसकेको बताएर फेल गराउने संस्थाहरु उपत्यकामा छ्यापछ्याप्ती भेटिन्छन्।
अन्तरवार्तामा छानिएका केही युवाहरु समेत यस्ता संस्थाहरुमा लामो समयसम्म टिक्न नसकेको पाइन्छ। किन यी संस्थाहरुलाई कर्मचारी सधै अपुग भइरहन्छ? दैनिक सयौं युवाहरु ति कार्यालय धाइरहँदा पनि त्यहीं संस्थाले ‘कर्मचारी चाहियो’ भन्दै कतिञ्जेलसम्म बेरोजगार युवाहरुलाई ठगिरहने?
No comments:
Post a Comment