Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, April 7, 2013

यसरी लुटिन्छन् मलेसियामा नेपाली श्रमिक

bankok-malesiya

क्वालालम्पुर ।  फेब्रुअरीको पहिलो हप्ता एकाविहानै कामका लागि साथीसँगै कम्पनी हिँडेका तनहुँका सन्त गुरुङ्ग बाटैमा लुटिए । उनका साथमा रहेको एक थान मोवाइल पनि लुटेराले लगे । त्यसयता उनी सधैंजसो त्रासमा बस्न थालेका छन् । ’बाटामा हिँड्दै थियौं एक्कासी पछाडिवाट मोटरसाइकलमा आएका लुटेराले समातेर सामान खोसे ।’ गुरुङले भने-’लुटेराबाट बच्न खोज्दा अर्का साथी घाइते भए ।’

गुरुङ्ग त प्रतिनिधि पात्रमात्रै हुन्, मलेसियामा रोजगारीमा आएका नेपाली श्रमिकहरु दिनैपिच्छे लुटिने गरेका छन् । आफुले कमाएको रकम सुरक्षितरुपमा घर पठाउनसमेत समस्या हुने गरेको अनुभव छ १२ वर्षदेखि मलेसियामा कार्यरत मोरङ्गका बासु काफ्लेको । काफ्ले भन्छन्-’बैँकमा रकम जम्मा नगरुन्जेलसम्म ढुक्क हुनै सकिन्न । होस्टेलबाट बाहिर निस्केपछि फेरि होस्टेल नपुग्जेल त्रासमै हिँड्नुपर्छ ।’
शाह आलममा बस्दै आएका स्याङ्गजाका जीवन गुरुङ्गले पनि थुप्रैपटक लुटेराको सामना गरेका छन् । उनको अनुभव छ- ‘लुटेराहरुले मोटरसाइकलदेखि कारसम्म प्रयोग गर्छन् । को लुटेरा हुन् भन्ने नै थाहा हुँदैन ।’ झापा घर भई सात वर्षदेखि मलेसिया बस्दै आएका विजय मिश्रको अनुभवमा लुटेराले सवारी साधनको नम्बर प्लेट छोपेर लुट्न आउने र भाग्ने गर्छन् ।
साथमा पैसा र अन्य सामाग्री नभए लुटेराले नेपाली श्रमिकमाथि कुटपिट गर्ने गरेको अनुभव सुनाउँछन सुनसरीका पदम अधिकारी । उनको दुखेसो छ-’पैसा नपाए हतियार प्रयोग गरी घाइते बनाउँछन् । अपाङ्ग नै हुने डर हुन्छ ।’ केही समयअघि यस्तै घटनावाट पीडित भएका उनी अहिले एक्लै होस्टेल बाहिर निस्कँदैनन् । ‘बैंक र बजार जान पनि समुह बनाएर मात्रै जाने गरेको छु’-उनले आफनो पीडा सुनाए । प्रतिकार गर्न खोज्नेहरुलाई लुटेराले हतियार प्रयोग गरी घाइते बनाउने गरेको अनुभव छ जोहरबारु बस्दै आएका मोरङ्गका नारायण पोख्रेलको । उनी भन्छन्-’धेरै साथी प्रतिकार गर्न खोज्दा घाइते भई अस्पताल बसेका छन् ।’ लुटेराले साथमा हतियार बोकेर हिँडने गरेको पोख्रेलको भनाइ छ ।
मलेसिया आएको एक महिनामै आफु लुटिएको पीडा दाङका आशु चौधरीको छ । ‘लुटेराले परिचित जस्तो गरेर बोलाए, नजिक जानेवित्तिकै चक्कु देखाएर नगद लुटे ।’ चौधरीले भने- ‘यस्तो अबस्थामा कसलाई विश्वास गर्नु ?’ ग्यान्टिङ्ग हाइलैण्ड बस्दै आएका मोरङका गोविन्द खनाल लुटेराहरुले विदेशी कामदारलाई पहिचान गरेर लुटने गरेको अनुभव सुनाउँदै भन्छन्-’सँगै हिँडेका स्थानीयलाई केही गर्दैनन्, हामीलाई मात्रै लुट्छन ।’ कैलाली घर भई साहआलममा कार्यरत कृष्ण गिरी राम्रा कम्पनीको तलव कहिले आउँछ भन्ने हेक्का राखेर लुटेराले योजना बनाउने गरेको बताउँछन् । तलव आउने दिनमा बाटो ढुकेरै लुट्ने गरेको उनले सुनाए ।
कतिपय कम्पनीले भने बाहिर लुटपाटका घटनाहरु हुन थालेको जानकारी पाएपछि कम्पनीभित्रै या नजिकै एटिएम मेशिनको व्यवस्था गरेका छन् । तर, अधिकांश कम्पनीमा यस्तो सुविधा नभएको श्रमिकहरुको गुनासो छ । नेपाली दुतावासले पनि यसमा चासो लिएर जनचेतनाको कार्यक्रम थाल्ने हो भने रगत र पसीना बगाएर कमाएको पैसा लुटिनबाट नेपालीहरु जोगिने थिए कि ?

No comments:

Post a Comment